टी-२० विश्वकप : पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा

November 11, 2021 11:45 pm

काठमाडौं ।
यूएईमा जारी आईसीसी टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो । अब अष्ट्रेलियाले उपाधिका लागि आइतबार न्यूजिल्याण्डको सामना गर्नेछ ।

सेमिफाइनलमा पाकिस्तानले दिएको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि म्याथ्यू वेड, मार्कस स्टोइनिस र डेविड वार्नरले उत्कृष्ट पारी खेले ।

वेडले १७ बलमा चार छक्का र दुई चौकासहित अविजित ४१ रन बनाए । उनले तीन बलमा लगातार तीन छक्का हिर्काउँदै ६ बलमै अगावै म्याच जिताउन सफल भए ।

स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ४० रनको योगदान दिए । त्यस्तै, डेविड वार्नरले ४९ र मिचेल मार्शले २८ रन बनाए ।

बलिङमा सादब खानले चार र शाहीनसाह अफ्रिदीले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो । उसका लागि मोहम्मद रिजवानसहित तीन ब्याटरले उत्कृष्ट पारी खेले ।

रिजवानले ५२ बलमा चार छक्का र तीन चौकासपहत ६७ रन बनाए । फखर जमानले ३२ बलमा चार छक्का र तीन चौकाको सहयोगमा अविजित ५५ रनको योगदान दिए ।

कप्तान बाबर आजमले ३४ बलमा ५ चौकाको सहयोगमा ३९ रन बनाउँदा आसिफ अली शून्य र सोएब मलिक भने १ रनमै आउट भए । बलिङमा मिचेल स्टार्कले दुई, एडम जम्पा र प्याट कमिन्सले एक/एक विकेट लिए ।