रत्ननगरमा अविरल बहुउद्देश्यीय सहकारी उद्घाटन

November 10, 2021 3:33 pm

रत्ननगर,२४ कार्तिक ।
रत्नननगरमा उद्योगी व्यवसायिहरुले संचालन गरेको अविरल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले बुधबार रिवन काटेर सहकारीको उद्घाटन गरेका हुन् । उत्पादनशिल,आयमुलक,सिपमुलक,रोजगारमुलक क्षेत्रमा लगानि गर्ने उद्देश्य सहित चितवन जिल्लालाई कार्यक्षेत्र बनाएर रत्ननगरको टाँडीमा अविरल सहकारी संचालनमा ल्याइएको संस्थाका अध्यक्ष ज्ञान बहादुर विसुरालले जानकारी दिए ।

सहकारीको उद्घाटन गर्दै मन्त्री खनालले सहकारी संचालनमा आएकोमा खुसी ब्यक्त गर्दै सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै खनालले वर्षाबाट पिडीत किसानलाई रत्ननगर नगरपालिकाले राहत उपलब्ध गराएकोमा मेयर नारायण वनको प्रशंसा गर्दै पिडीत किसानलाई प्रदेश सरकारका तर्फवाट सक्ने सहयोग गर्ने विषयमा छलफल भइरहेको भन्दै आवश्यक सहयोग गर्न पहल गर्ने आश्वासन दिए । उनले आफु रत्ननगरमै बसोबास गर्ने भएकोले रत्ननगरको विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्नेछु भन्दै रत्ननगरको विकासमा गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद कंचन खनालले उद्यमशिल महिलाहरुको संख्या कम भएको भन्दै महिलाहरुलाई उद्यमशिल बनाउन पहल गर्न सहकारीलाई आग्रह गर्दै उत्पादनमुलक क्षेत्रमा लाग्न आग्रह गरिन् । उनले सांसद भएको हिसाबले रत्ननगरको विकासका लागि प्रदेश सरकारमा आफ्नो आवाज उठाइराख्ने आश्वासन दिदै कृषकलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिइन् । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले सहकारीलाई उत्पादशिल क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटी,रत्ननगर नगरपालिकाका मेयर नारायण वन,बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्य,रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,रत्ननगर खानेपानीका अध्यक्ष भिष्मराज पौडेल,रत्ननगरका उद्योगी ब्यवसायी लगायतको उपस्थिती रहेको उद्घाटन कार्यक्रममा मन्त्री खनाललाई रत्ननगर उद्योग बाणीज्य संघ र अविरल सहकारीको तर्फबाट सम्मान समेत गरिएको थियो ।