एमालेको संसद् अवरोधले नागरिकका समस्या उठाउन सकिएन : गृहमन्त्री

November 9, 2021 1:48 pm

धनुषा। नेपाली काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन्। मंगलवार जनकपुरधाममा गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरू सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राखे।

‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरूलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु। राजनीतिक रूपमा देखिएका गतिरोधलाई अन्त्य गरौं,’ उनले भने, ‘जनप्रतिनिधिले जनताका गुनासा, समस्यालगायतका कुराहरू राख्ने, सरकारले नीति नियम, विधेयक र कानून बनाउने थलो भएकाले प्रतिनिधिसभा नियमित सञ्चालन भयो भने सरकारलाई समेत मद्दत पुग्छ। जनतालाई समेत भरोसा र विश्वास जाग्छ।’

उनले राजनीतिको मूलधारमा नआएका पार्टीहरूसँग छलफल तथा संवाद गरेर राष्ट्रिय मूलधारको राजनीतिमा ल्याउने कोशिश भइरहेको समेत स्पष्ट पारे। सोमबार अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको बैठकबारे जानकारी समेत गृहमन्त्री खाँडले गराए। गृहमन्त्री खाँडले सुरक्षा सवालमा आन्तरिक र बाहिरी चुनौती संवेदनशीलता बढ्दै गएको बताए। उनले बाहिरी तथा आन्तरिक सुरक्षाका सवालमा केन्द्र, प्रदेश र स्थानीय तहसँग सुरक्षा निकायको समन्वय र सहकार्य हुन जरुरी रहेको बताए।

यसैबीच गृहमन्त्री खाँडलाई मैथिली विकास समितिले एक कार्यक्रम आयोजन गरी स्वागत तथा सम्मान गरेको छ। यस्तै उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र कुमार महासेठले व्यवसायीहरूको सुरक्षा समस्या र आवश्यकता बारे एक ज्ञापन पत्र समेत सो कार्यक्रममा बुझाएका थिए।