रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा नेकपा एमालेको वडा कार्यालय उद्घाटन गरिएको छ । बिहीबार एमालेका जिल्ला इन्चार्ज तथा प्रदेश कमिटी सहइन्चार्ज काशिनाथ अधिकारीले कार्यालयको उद्घाटन गरेका हुन् । सोही अबसरमा नगर कमिटी तथा वडा कमिटीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले सबै हिसाबले एमाले नेपाली राजनीतिको सार्वोत्कृष्ट पार्टी रहेको बताए । उनले फुटाउन खोज्दैमा एमाले फुट्दैन भन्दै अहिले पनि एमाले मुलुकको सबै भन्दा ठुलो पार्टी भएको बताए। कार्यक्रममा मेयर नारायण वनले वर्तमान सरकारले सुकुम्बासीलाई लालपूर्जा नदिए स्थानीय सरकारको हैसियतले रत्ननगर नगरपालिकाले सुकुम्बासीलाई सेतो पुर्जा दिने बताए ।
कार्यक्रममा इश्वरी प्रसाद अर्याल नेतृत्वको नगर कमिटी,आशिक तामाङको नेतृत्वमा बनेको वडा कमिटीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य कपिलदेब पोखरेल,रत्ननगरकी उपमेयर विमला दुवाडी,पार्टीका जिल्ला सचिव शैलेश खनाल,नेताहरु जेएन थपलिया,प्रेमनाथ दुवाडी,राजाराम रेग्मी,यादब पाठक,चन्द्रकान्त न्यौपाने,महादेबी खतिवडा,प्रताप डल्लाकोटी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा कमिटी अध्यक्ष आशिक तामाङको अध्यक्षतामा भएको थियो ।
