रत्ननगर,कार्तिक १७
चितवनमा पछिल्लो समय पुष्प ब्यवसायमा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ । लगानी अनुसारको मनग्य आम्दानी हुने भएकोले यो ब्यवसायमा युवाहरु आकर्षित भएका छन् । कालिका नगरपालिका २ पदमपुरका गोविन्द बास्तोला र भरतपुर १४ शिवनगरका मनोज कुमार ढकालले पनि चितवनमा पुष्प ब्यवसाय गर्दै आइरहेका छन् । बास्तोला र ढकाल मिलेर जग्गा भाडामा लिएर पुष्प ब्यवसाय गरेका हुन् ।
बास्तोला र ढकालले संयुक्तरुपमा कालिकाको पदमपुरमा २ विगाहा र भरतपुरको शिवनगरमा १५ कठ्ठा जग्गा भाडामा लिएर फूलखेती गरेका छन् । बारीमा अहिले बिक्री गर्नको लागि तयारी अवस्थामा रहेको सयपत्री फूल ढकमक्क फुलेका छन् । करिब ७ महिना अघि जिएम फ्लोरिकल्चर फर्मको नामबाट ब्यवयास सुरु गरेका उनिहरु अहिले तिहारको लागि सयपत्री फूल बिक्री गर्न ब्यस्त छन् । दश हजार माला बिक्री गर्ने लक्ष्य रहेकोमा अहिले लगभग १० हजारनै मालाको अर्डर आइसकेको ढकालले बताए । कृषी विषयनै अध्ययन गरेका ढकालले भने ‘अहिले युवाहरु विदेशीने क्रम वढ्दो छ मेहनत गरेर नेपालमै पुष्प ब्यवसाय गरेमा यहीबाट मनग्य आम्दानी गर्न सकिन्छ ।’ उनले चितवन फूलमा आत्मनिर्भर नभएको भन्दै युवाहरु यो ब्यवसायमा लागे छिट्टै चितवन फूलमा आत्मनिर्भर हुने बताए ।
पुष्प ब्यवसायमा लाग्दाको सुरुवाती दिन सम्झीदै बास्तोलाले भने ब्यवसाय सुरु गर्दा त्यती प्रोत्साहन नमिले पनि अहिले सवैले यसको महत्व बुझेकाले प्रोत्साहन गर्ने गरेको बताए । उनले भने ‘ब्यवसायबाट सन्तुष्ट छौ, नाफा पनि कमाइराखेका छौ अब हाम्रो लक्ष्य भनेको जग्गा थप्दै फुल खेती गरेर चितवनलाई फुलमा आत्मनिर्भर बनाउने हो ।’ काठमाण्डौमा शंकरदेब क्याम्पसमा प्राध्यापन पेशा गरिरहेका बास्तोलाले पेशा छोडेर पुष्प ब्यवसाय अंगालेका हुन् भने कृषि विषयनै अध्ययन गरेका ढकाल कृषि विकास कार्यालय डोल्पाका अधिकृत हुन् ।
ढकालका अनुसार फूलको माग अन्य समयमा भन्दा चाडपर्वको समयमा अत्याधिक हुने गरेकोे छ। उनले तिहारको लागि अझै पनि फूलको माग भइराखेको छ तर हामीले उत्पादन गरेको भन्दा बढीको माग भएकोले अहिले अर्डर लिन रोकेका छौ। उनले फूलको माग चाडपर्व,विवाह,व्रतवन्ध,सभा,गोष्ठी,सेमीनार लगायतका कार्यक्रमको लागि हुने गरेको बताए । तिहारको लागि सयपत्री फूलको माग अत्याधिक आएकोले सबै अर्डर लिन नसकेपनि मंसिर र पुसमा अहिलेको भन्दा दोब्बर फूल उत्पादन हुने जानकारी दिए । अहिले बजारमा प्रतिमाला खुद्रा मुल्य ९० रुपैयाँ भन्दा माथी र थोक मुल्य ७० रुपैयाँ भन्दा माथी रहेको छ । चितवनमा उत्पादन भएको फूलको बजार नारायणगढ सहित काठमाण्डौ,पोखरा, हेटौडा,बुटवल लगायतका शहर छन् ।
मेयरले फूल टिपेर शुभारम्भ गरे बिक्री
जिएम फ्लोरिकल्चर फर्मका संचालक ढकाल र बास्तोलाले सोमबार एक औपचारीक कार्यक्रम गरि फूलको बिक्री शुभारम्भ गरेका छन् । कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले सयपत्री फूल टिपेर बिक्रीको औपचारीक शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा मेयर श्रेष्ठले युवाहरु पुष्प ब्यवसायमा लागेकोमा खुसी ब्यक्त गर्दै नगरपालिकाले यस अघि पुष्प ब्यवसाय प्रबद्र्धनमा बजेट नछुट्याए पनि आगामी दिनमा यस क्षेत्रमा पनि बजेट छुट्याउने प्रतिवद्धता ब्यक्त गरे । उनले पछिल्लो समय पुष्प ब्यवसायमा थोरै लगानीमा पनि मनग्य आम्दानी गर्न सकिने भन्दै यस ब्यवसायमा लाग्न चाहने युवाहरुलाई नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।
७५ बर्ष उमेर नाघेका जेष्ठ नागरीकलाई सयपत्री फूलको माला लगाएर सम्मान गरीएको कार्यक्रममा कालिका नगपालिका वडा नम्बर ३ का वडाध्यक्ष टिकाराज रिजाल,वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण कुमार श्रेष्ठ,स्थानीय संघसस्थाका प्रतिनीधी लगायतको उल्लेख्य उपस्थिीत रहेको थियो ।

