एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी हो : भट्टराई

November 3, 2021 4:33 pm

काठमाडौं। नेकपा एमालेले आफूबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो १०औं महाधिवेशनमा अतिथिका रूपमा नबोलाउने भएको छ। महाधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १०औं महाधिवेशन उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई पनि निमन्त्रणा दिएको जानकारी दिए।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा आइक्यापका (आइसिएपीपी) का स्थायी कमिटीका सदस्यहरूलाई पनि निमन्त्रणा गरिएको भट्टराईले बताए। उद्घाटन सत्रमा राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिनेछ। तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने नडाकिने उनले बताए। पहिचान स्थापित भई नसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनु नपर्ने भट्टराईले बताए।

उनले एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिए। ‘नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रण दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरूलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भधारणबाट बनेका पार्टीहरू छन्, त्यस्ता पार्टीहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन,’ भट्टराईले भने।

एकीकृत समाजवादी गत भदौ ९ मा निर्वाचन आयोगमा दर्ता भएको थियो। यो पार्टी केन्द्र र प्रदेशमा पनि सरकारमा छ। एमाले विभाजन भई नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो।