सौराहामा चितवनकै पहिलो सुविधा सम्पन्न एम्बुलेन्स उद्घाटन

October 30, 2021 12:09 pm

चितवन,कार्तिक १३
चितवनको पर्यटकीय नगरी सौराहामा चितवनकै पहिलो सुविधा सम्पन्न एम्बुलेन्स उद्घाटन गरिएको छ । राज मेडिकल हल सौराहाको २५ औं बार्षिक उत्सवको अवसरमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले एम्बुलेन्सको उद्घाटन गरेका हुन् । सौराहा र यस आसपासका जनतालाई सेवा दिने लक्ष्य राखेर उद्घाटन गरिएको एम्बुलेन्स कानुनी प्रक्रीया पुरा गरि केही दिनपछि संचालनमा ल्याइने राज मेडिकल हलका प्रमुख राजेन्द्र प्रसाद खरेलले जानकारी दिए । स्वास्थ्य तथा वातावरण सरोकार समाज नेपालको सहयोगमा संचालनमा आउन लागेको एम्बुलेन्समा मोनिटर सहित तालिम प्राप्त स्वास्थ्यकर्मी रहने समाजका उपाध्यक्ष शेस सापकोटाले बताए । उनले चितवनमा २०० भन्दा बढी एम्बुलेन्स संचालनमा आएपनि यस्तो सुविधा सहितको एम्बुलेन्स चितवनमा पहिलो भएको दावी गरे ।

कार्यक्रमका प्रमुख अतिथी वनले नगरपालिकाको पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र भएको जानकारी गराउदै चितवनकै पहिलो सुविधा सम्पन्न एम्बुलेन्स सौराहाबाट संचालनमा आउन लागेकोमा खुसी ब्यक्त गरे । उनले एम्बुलेन्स संचालनका लागि नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको वताए । कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष लाल बहादुर भट्टले एम्बुलेन्स संचालनमा आएपछि सौराहा र यस आसपासका जनताले लाभ लिने विश्वास ब्यक्त गर्दै वडा कार्यालयले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

एम्बुलेन्स उद्घाटन संगै मेडिकलले २५ औं वार्षिकोत्सव तिन दिन सम्म मनाउने मेडिकलका प्रमुख खरेलले जानकारी दिए । वार्षिकोत्सवको पहिलो दिन एम्बुलेन्स उद्घाटन संगै रक्तदान कार्यक्रम पनि गरिएको थियो । वार्षिकोत्सवको दोस्रो दिन आइतबार निःशुल्क दन्त परिक्षण र तेस्रो दिन सोमबार निःशुल्क मधुमेह परिक्षण शिविर गरिने खरेलले बताए ।

वार्षिकोत्सव कार्यक्रममा सौराहाका संघ संस्थाका प्रमुख तथा प्रतिनिधी,स्थानिय जनप्रतिनिधी,होटल ब्यवसायी,स्वास्थ्यकर्मी,समाजसेवी लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो ।