प्रतिनिधिसभा बैठक : एमाले सांसदहरुको अवरोध

October 28, 2021 3:39 pm

काठमाडौं। प्रतिनिधि सभाको बिहीबारको बैठक पनि एमालेले अवरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेर्न पुगेका थिए।

अहिले एमालेका सांसद्हरु नाराबाजी गरिरहेका छन्। सभामुखले बाढी पहिरोले पुर्‍याएको क्षति तथा समसामयिक विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमालेका सांसद्हरुले अवरोध जारी राखेका छन्।

उनीहरुले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, कालोधन वैधानिक बनाउन पाइँदैन, गैर सांसदलाई निषेध गर जस्ता नारा लगाएका छन्। गत भदौ २३ गतेदेखि सुरु भएको नवौं अधिवेशनका सबै बैठकमा एमालेका सांसद्हरुले अवरोध गरिरहेका छन्।