सभापतिका लागि म स्वभाविक उम्मेदवार हुँ : पौडेल

October 25, 2021 3:33 pm

नेपालगञ्ज। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको बताएका छन्। बाँकेमा सोमबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘दसैं अगाडि नै कार्यसमिति बैठक बोलाउनुस्, पार्टीको अधिवेशन कसरी समयमा गर्छौं, छलफल गरौं भनेर मैले भनेको हुँ, अहिलेसम्म कार्यसमिति बैठक बस्न सकेको छैन।’

आफू काठमाडौं फर्केर पनि यस विषयमा पार्टी सभापति देउवालाई भन्ने बताए। ‘पार्टीको अधिवेशन हुनुपर्छ, अधिवेशन नहुँदा पार्टी वैधानिक संकटमा परेको अवस्था छ,’ पौडेलले भने, ‘वैधानिक संकटबाट काँग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौं।’ पौडेलले १४ औं महाधिवेशनमा आफू सभापति पदको स्वाभाविक उम्मेदवार भएको पनि बताए। तर आफ्नो समूहमा यसबारे कुराकानी हुन बाँकी नै रहेको उनले उल्लेख गरे।

‘म पार्टीभित्र स्वाभाविक रूपमा सभापतिको उम्मेदवार हुँ,’ उनले भने, ‘१३ औं महाधिवेशनमा पनि म नै सभापतिको उम्मेदवार थिएँ। यसपालि पनि टिममा छलफल गरेपछि निर्णय हुन्छ। स्वाभाविक रूपमा म सभापतिको उम्मेदवार हुँ।’ पौडेलले आफ्नो टिमबाट आफूलाई सबैले सर्वसम्मत उम्मेदवार बनाउने आशा व्यक्त गरे। ‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एक जना उम्मेदवार दिन्छौं,’ उनले भने, ‘केही साथीहरूको आकांक्षा कता कता सुन्नमा आए पनि सबै साथीहरूसँग छलफल गरेर एउटै उम्मेदवार टुंगा लगाउँछौं।’

प्रधानन्यायाधीशमाथि लागेको आक्षेपलाई समयमै स्पष्ट पार्नुपर्ने उनको सुझाव छ। ‘उहाँमाथि जुन किसिमको आक्षेप लागेको छ,त्यसलाई प्रष्ट पार्नुपर्छ, चाहे प्रधानमन्त्री, चाहे प्रधानन्यायाधीश चाहे राष्ट्रपति, उहाँहरूले आफूलाई आत्मा अनुशासित राख्नुपर्छ, केही कुरा बाहिर आएपछि प्रष्ट पारेर परिस्थितबाट सफाइ दिनुपर्छ।’