काठमाडौं। एमालेको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएपछि १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकबाट भीम रावलले राजीनामा दिएका छन् । शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिएका हुन् । ‘अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने गरी प्रस्तुत भएपछि स्थायी कमिटी बैठकमा कार्यदल संयोजकबाट राजीनामा दिएको हुँ,’ रावलले भने, ‘औपचारिक रुपमा भोलि राजीनामा पत्र बुझाउनेछु ।’ रावलले पेस गरेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले पनि समर्थन जनाएका छन् ।