काठमाडौं,कार्तिक ४
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएकाे छ। प्रदेशसभा बैठक आगामी कात्तिक १० गतेसम्म स्थगित भएको हाे । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।
बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन प्रदेशसभा समक्ष प्रस्ताव गरेकी थिइन् । तर विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।
यसअघि नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको थियाे। अन्ततः मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यकाे विश्वासकाे मतमा मतदान नै नभइ प्रदेशसभा बैठक कार्तिक १० सम्मका लागि स्थगित भएकाे छ।