पद्मश्री साहित्य पुरस्कार दाहाललाई,पद्मश्री साधना सम्मान आचार्यलाई

October 20, 2021 6:48 pm

काठमाण्डौ,कार्तिक ३
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनले वि.सं.२०७७ सालको पद्मश्री साहित्य पुरस्कार ‘मोक्षभूमि’ उपन्यासका लेखक केशब दाहाललाई प्रदान गरेको छ । दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको दासहरुको मुक्तिको गाथा र गरिमालाई उपन्यासमा चित्रण गरेका छन् । ‘मोक्षभूमि’ मा युद्ध र अपराध, पाप र प्रायश्चितदेखि प्रेम र यौनसम्मका उपकथा छन् ।

त्यस्तै,पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिएको छ । गायक, सङ्गीतकार तथा गीतकार समेत रहेका आचार्यकोे ‘तन मन वचनले प्रभु नाम गाऊँ’,‘एक दिन मैले प्रभुसँग सोधें’ लगायतका भजन चर्चित छन् । आचार्यले गाएको ‘मुटु जलिरहेछ’,‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘जहाँ छन् बुद्धका आँखा’ लगायतका गित चर्चित छन् ।

वि.सं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।