माओवादी केन्द्रले बनायो तीन आयोग

October 19, 2021 3:11 pm

काठमाडौं। नेकपा माओवादी केन्द्रले तीनवटा आयोग, केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले १४९ सदस्यीय केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

यसैगरी २५-२५ सदस्यीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग गठन गरिएको उनले जानकारी दिए। विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग, पेशलकुमार पोखरेलको अध्यक्षतामा लेखा आयोग र टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरिएको प्रवक्ता महराले बताए।

यस्तै भूगोलभन्दा बाहिर काम गर्नेहरूको विशेष समिति पनि बनाइएको उनले बताए। यो १७५ सदस्यीय छ। माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ। राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरिएको प्रवक्ता महराले जानकारी दिए।