खेलकुदको स्तर सुधार्न आवश्यक कदम चाल्छौं : मन्त्री गहतराज

October 17, 2021 5:41 pm

काठमाडौं। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले साफ च्याम्पियनसिपमा नेपालको प्रदर्शनबाट आफू निराश नबनेको बताएका छन्। रिपोटर्स क्लबको साक्षात्कारमा आइतबार मन्त्री गहतराजले राम्रो परिणामको अपेक्षा गरे पनि नेपालको प्रदर्शनबाट आफू दुखी भने नभएको बताएका हुन्।

उनले खेल क्षेत्रमा अझै लगानी गरेमा राम्रो परिणाम आउने पनि बताए। ‘हाम्रा खेलाडीले देखाएको प्रदर्शनबाट म निराशा छैन। खेल क्षेत्रमा अझै लगानी गर्ने हो भने यो भन्दा धेरै सफलता प्राप्त गरिन्छ। यही साफको कुरा गर्दा पनि धेरै देशलाई पछि पार्दै नेपालले भारतसँग फाइनल खेलेको हो। अहिले सबै निराश हुनुपर्ने अवस्था छैन। नेपालीहरूको अपेक्षा जितेर आओस् भन्ने थियो। भोलि मात्रै हाम्रो टिम स्वदेश फर्किन्छ। राम्रो परिणाम आओस् भन्ने हाम्रो कामना थियो। नजितेकोमा म निराशा छैन,’ उनले भने।

उनले फाइनलमा नेपालले भारतलाई लामो अवधिसम्म गोल गर्न नदिएको र खेलमा राम्रो प्रदर्शन देखाएको पनि बताए। उनले भने, ‘नेपाली गोर्खा स्प्रिट सम्झेर खेल्न प्रेरित गरेको थिएँ, खेले पनि।’ नेपालले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखिएको उनले बताए। भारतलाई लामो समयसम्म गोल गर्नबाट रोक्न सकेको उल्लेख गर्दै उनले खेलाडीहरू खेल्दा खेल्दै असफल भएको बताए।

उनले भने, ‘असफलताबाट सिकेर सफलताका लागि बढ्नुपर्छ।’ नेपालको खेलको समीक्षा हुने र भविष्यमा अझ खेलको स्तर सुधार्न आवश्यक कदम चालिने मन्त्री गहतराजले आश्वासन दिए। मन्त्री गहतराजले केही दिनभित्रै समग्र खेल क्षेत्रको विकासको लागि नयाँ सोच र भिजन सार्वजनिक गर्ने पन बताएका छन्।