नेपाललाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

October 17, 2021 10:05 am

असोज ३१ । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ।

माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो। भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान एक एक गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो। यस संस्करणमा सुनिलको यो पाँचौं गोल हो।

खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए।त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए।

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ। नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना चकनाचुर भएको छ।

तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ। नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो। पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो। नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो।