समाजवादी यात्राको बाधक केपी ओली : नेपाल

October 7, 2021 12:56 pm

काठमाडौं। नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। बिहीबार पार्टीको स्थायी कमिटीको सातौँ बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन्।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले जोशीलाई स्वागत गरेका छन्। पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि हुन्। माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा जोशी सुदूरपश्चिमको सहइञ्चार्जको भूमिकामा थिए।

जोशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले केपी ओलीलाई सुधार्न नसकिने निष्कर्षमा पुगेर नेताहरूले एमाले छाडिरहेको बताए। ‘सुधार्न नसकिने भयो भन्ने निष्कर्षमा पुगेर भानुभक्त जोशी समाजवादीमा प्रवेश गर्नुभएको छ। सँगसँगै काम गर्ने उत्साह लिएर एमालेमा प्रवेश गरेको जानकारी गराउनुभएको छ,’ उनले भने।

नेपालले जोशीको नयाँ यात्रामा एमालेका अध्यक्ष ओली बाधक हुने बताए। उनले जोशी एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य हुने जानकारी गराए। बाँकी जिम्मेवारीबारे पार्टी कमिटी बैठकले गर्ने उनले बताए। ‘उहाँलाई स्थायी कमिटीको सदस्य बनाइएको यहीबाट घोषणा गर्दछु,’ नेपालले भने। नेपालले ओलीले विभिन्न खालका भ्रम फैलाएकाले भ्रम चिर्नुपर्ने चुनौती समाजवादीका अगाडि रहेको बताए।