एमाले सिध्याउँछु भन्नु पहरामा कुहिनाे ठाेक्नु जस्तै हाे : पाेखरेल

October 6, 2021 5:46 pm

काठमाडाैं। नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशप्रति गर्न नहुने घात गरेको आरोप लगाएका छन् । दाेलखाकाे चरिकोटमा बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

माधव नेपाल कम्युनिस्ट आन्दोलन सक्ने बाटोमा लागेर एमाले छाडेको उनको आरोप छ । उनले भने ‘उहाँ सक्छु भनेर लाग्नु भएको छ । एमाले सक्नु भनेको पहरामा कुहिनो ठोक्नु हो । उहाँलाई थाहा छ।’

नेता नेपाल र प्रचण्ड कम्युनिस्ट आन्दोलन सक्न कांग्रेसको पछि लागेको पनि उनको आरोप थियो । पोखरेलले भनेका छन्, ‘नेपाली कांग्रेस निराश बनेको थियो, माधव र प्रचण्डले आशा जगाइरहेका छन्। कम्युनिस्टको जनमतलाई घात गर्ने नेतालाई जनताले माफ दिने छैनन् ।’

देश बर्बादीतर्फ गएको जिम्मा नेपाल र प्रचण्डले लिनुपर्ने उनको तर्क थियाे । तर नेकपा एमाले भने विधान महाधिवेशनबाट थप बलियो बनेर आएको नेता पोखरेलले दाबी गरे।