काठमाडौं। नेकपा एमालेको पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा खिमलाल भट्टराईले पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।
उनले शुक्रबार सवा १२ बजे पार्टीका अध्यक्ष केपी ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए। महाधिवेशन सम्पन्न गर्न आधुनिक र डिजिटल प्रविधिको प्रयोग गरिने उनले बताए। भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा देशभरका पाँच हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए।
भदौ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले असोज १५ देखि १७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। उनले उद्घाटनपछि तीनवटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए। विधान महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी बन्ने बताए।
विधान महाधिवेशनमा केन्द्रीय कमिटी, प्रदेश कमिटी र विशेष कमिटीका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन्। त्यस्तै जिल्ला कमिटीका पदाधिकारी र सदस्य पनि विधान अधिवेशनमा भाग लिने एमालेले जनाएको छ।
विधान अधिवेशनमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासधिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। यी तीनवटै प्रस्तावमाथि समूहगत छलफल गराएर सुझावसहित पारित गराइने एमालेले जनाएको छ।