प्रधानमन्त्री देउवाले बाेलाए सर्वदलीय बैठक

September 29, 2021 11:13 pm

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । संसदको गतिरोध हटाउने तथा सहमतिको वातावरण बनाउने प्रयासस्वरुप देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

एमालेले माधव कुमार नेपालतिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध पार्दै आएको छ । तर सभामुखले भने यो विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै आफूले केही गर्न नसक्ने जनाउँदै आएका छन् । त्यसपछि आक्रोशित बनेको एमालेले संसद्मा नाराबाजी गर्दै अवरोध गर्दै आएको छ । अवरोधकै बीच पनि संसद्बाट अध्यादेश तथा विधेयकहरू पारित भइरहेका छन् ।

यसअघि सभामुख अग्नि सापकोटाले पनि सदनको गतिरोध अन्त्य गर्न पहल गरेका थिए । त्यसका लागि उनले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । भोलिको बैठकमा पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ भने एमालेको सहभागिता हुने नहुने निश्चित भइसकेको छैन ।