पृथ्वी राजमार्ग स्थित त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता, एक घाइते

September 24, 2021 8:37 am

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ नाग्दी खोलास्थित पृथ्वीराजमार्गबाट ३५ मिटर तल त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । गए राति ११ः४५ बजेको समयमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजी कार्य सुरू गरेकोमा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेपत्ता हुनेमा कार चालक कास्की पोखरा महानगर १७ बस्ने वर्ष ६० को प्रेमबहादुर भुजेल, कारमा सवार सोही ठाउँ निवासी ५६ को लेखबहादुर भुजेल र निजकी श्रीमती वर्ष ३६ की ईश्वरी भुजेल रहेको प्रहरीले जनाएको छ । यस्तै, घाइते हुनेमा कारमा सवार कास्की जिल्ला पोखरा महानगर १७ बस्ने वर्ष ४६ को रुद्रलाल सुवेदी रहेका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।