डडेल्धुरामा पुन: वडा अधिवेशन गर्ने सम्भावना छैन : महामन्त्री शशांक कोइराला

September 16, 2021 9:16 pm

काठमाडौ ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले डडेल्धुरामा फेरि वडा अधिवेशन गर्ने सम्भावना आफूले नदेखेको बताएका छन्।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिक्रिया दिएका महामन्त्री कोइरालाले डडेल्धुरामा फेरि वडा अधिवेशन गर्ने सम्भावना नदेखिएको बताए।
डडेल्धुरा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो। यहाँ क्रियाशील सदस्यताको विवाद समाधान नगरी वडा अधिवेशन गरिएको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेल्धुरामा फेरि वडा अधिवेशन गर्नुपर्ने माग गरिरहेका छन्। भदौ २५ मा जिल्ला सभापति कर्णबहादुर मल्ललगायतको विरोधबीच नै डडेल्धुरामा वडा अधिवेशन गरिएको थियो। सभापति देउवा पक्षले राज्य प्रशासनको दुरूपयोग गर्दै अधिवेशन गरेको पौडेल पक्षले पत्रकार सम्मेलन गर्दै आरोप लगाएको थियो।

क्रियाशील सदस्यता विवादबीच एक पक्षले भाग नलिईकन वडा अधिवेशन भएकोले त्यो स्वीकार्य नहुने पौडेलले बताउँदै आएका छन्। उनले फेरि वडा अधिवेशन हुनुपर्ने बताइरहेका छन्।

वरिष्ठ नेता पौडेलसहित उनी पक्षका नेताहरूले डडेल्धुरामा फेरि वडा अधिवेशन हुनुपर्ने माग गर्दै निर्वाचन समितिमा आज ध्यानाकर्षण पनि गराएका छन्।