काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीले जिम्मेवारी हेरफेर गर्नेबारे कुनै निर्णय नभएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको इन्चार्ज को हो भन्ने विवादको विषय बाहिर आइरहेका बेला उपाध्यक्ष रावलले यस्तो बताएका हुन्।
गृहजिल्ला अछाममा आयोजित कार्यकर्ता भेलामा उनले भने, ‘पार्टीले जिम्मेवारी हेरफेर गर्ने कुनै निर्णय गरेको छैन। कार्यदल गठन भएको छ, सहजकर्ता तोकिएको छ। बालकोटमा भएको छलफलमा मेरै प्रस्तावमा भएको हो,’ उनले भने, ‘त्यहाँ पार्टी अध्यक्षले तपाई पार्टी उपाध्यक्षको हैसियतमा हुनुहुन्छ। दश बुँदे कार्यान्वयन गर्ने विषयमा जहाँ समस्या आउँछ त्यहाँ छलफल गरौंला भन्नुभएको हो।’
उनले आफ्नै प्रस्तावमा बालकोटमा नेताहरू सबै बसेर छलफल गरेको भन्दै कुनै समस्या अहिले नदेखिएको बताए। ‘म गृह क्षेत्र आए लगत्तै धेरैले सोधेपछि मैले प्रष्ट पार्न खोजेको हुँ,’ उनले भने, ‘बालकोटमा भएको छलफलमा को इन्चार्ज के भन्ने विषयमा कुनै छलफल भएको होइन। पार्टीलाई एकताबद्ध बनाएर लैजाने समय हो यो।’
कम्युनिस्ट पार्टीमा जीवन बलिदान गर्न तयार रहेको भन्दै आफूहरू लागेको भन्दै पदका लागि लडाइ नभएको बताए। एकीकृत समाजवादीमा लागेका नेताहरूको नाम नलिएरै रावलले प्रलोभन देखाउन खोज्लान् भन्दै सचेत हुन नेता कार्यकर्तालाई आग्रह गरे। ‘नगरपालिका र प्रदेशबाट बजेट र योजना दिलाउँछु भनेर प्रलोभनमा पार्लान्,’ उनले भने, ‘त्यो कसैले खल्तीबाट दिने होइन। त्यसको प्रक्रिया हुन्छ त्यसमा सचेत हुनुहोला।’