हालको बागमती प्रदेश सरकारलाई एकीकृत समाजवादीले समर्थन नदिने

September 12, 2021 5:49 pm

बागमती : नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।

एकीकृत समाजवादीको आज हेटौंडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको नेता बसुन्धारा हुमागाईँले बताए ।

उनका अनुसार आजै सभामुख र प्रदेशसभा सचिवालयमा पत्र पठाउने तयारी भइरहेको छ । त्यस्तै आज बसेको बैठकले बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पार्टीको तर्फबाट प्रदेशसभामा जेष्ठ सदस्यका रुपमा रहेका माधव पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकार अल्पमतमा परेको बेला गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने दौडमा रहेका पाण्डे संसदीय दलको नेता चयन हुनुलाई चासोका साथ हेरिएको छ ।

एमाले विभाजनपूर्व बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्येले मुख्यमन्त्री पदको प्रलोभनमा माधव नेपालको साथ छाडेकी थिइन् ।

प्रदेशमा ५६ सांसदसहित स्पष्ट बहुमतमा रहेको एमाले नेता नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएसंगै ४३ सांसदमा खुम्चिन पुग्यो ।

एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् । यता, गठबन्धनको तर्फबाट पाण्डेको नाम मुख्यमन्त्रीको चर्चामा छ ।