काठमाडौं,भदौ २७
सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले भदौ २८ गते दिउँसो साढे २ बजेका लागि बैठक बोलाएका हुन्। समसामयिक विषयमा छलफल गर्न उनले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलका नेताहरूको बैठक बोलाएका छन्। सभामुखले भदौ २८ गतेका लागि सर्वदलीय बैठक आव्हान गरेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। उनले भने, ‘सभामुख अग्निप्रसाद सापकोटाले मिति २०७८ भदौ २८ गते दिउँसो २ ३० बजे संघी संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलका नेताहरूसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गर्नुभएको छ।’भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरूले निरन्तर विरोध गर्दै आएका छन्। एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुख सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि फेरि बैठक सुरु भए पनि एमालेको अवरोध कायमै रहेपछि भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो।