काठमाण्डौ,भदौ २२ – पपुवा न्युगिनी सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल दुई विकेटले विजयी भएको छ । पपुवा न्युगिनी ले दिएको एक सय ३५ रनको लक्ष्य नेपालले ३९ ओभर ३ बलमा आठ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि रोहित पौडेलले ४१ रन बनाए । त्यस्तै आशिफ शेखले ३०, कुशल भुर्तेलले १५ र सोमपाल कामीले अविजित २२ रन बनाए । ८२ रनमा सात विकेट गुमेको अवस्थामा रोहित पौडेलले र सोमपाल कामीले ५२ रनको साझेदारी गरे । बलिङतर्फ पीएनजीका गौडी टोकाले तीन विकेट लिए । त्यस्तै दमेन राभु र चाद सोपरले दुई–दुई विकेट लिए । यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै एक सय ३४ रन बनायो । पीएनजीका लागि लेगा सिकाले ३०, चार्लेस अमिनीले २३ र गौदी टोकाले २२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार विकेट लिए, १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिए । दुई खेलको एकदिवसीय शृङ्खला अन्र्तगतको अर्को खेल शुक्रबार हुनेछ।