काठमाडौं,भदौ १८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म आज नै अधिवेशन हुने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्वीकृती लिएर एक/दुई दिनपछि अधिवेशन गर्न सकिने बताइएको छ ।
क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेस पार्टी कार्यालयले जनाएको छ । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिनुभयो । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।