नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा प्राप्त हुने र त्यसले आगामी निर्वाचन जित्न थप सहयोग पुग्ने बताएका छन्।
मंसिरमा हुने महाधिवेशनबाट निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने पनि उनले बताए।
झापाको दमक नगर समितिको कार्यालयमा भएको कार्यकर्ता भेटघाटमा प्रवक्ता शर्माले पार्टी महाधिवेशनमा होमिइसकेको बताए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको प्राथमिकता नबुझेकोले सरकारबाट बाहिरिनु परेको शर्माको भनाइ थियो।
कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्न भने पनि सरकार चलाउनुपर्नेले नचलाएपछि देश चलाउने जिम्मेवारी कांग्रेसमा आइपुगेको उनको भनाइ थियो।
ओली नेतृत्वको सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको दाबी गर्दै शर्माले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भने स्थिरताका लागि अध्यादेश ल्याएको बताए।