चेपाङ महिला सशक्तिकरण : सौराहामा सिकाइ आदानप्रदान

August 18, 2021 3:57 pm

चितवन ०२ भदौ । चितवनका चेपाङ महिलाहरुको सशक्तिकरणको लागि गरेका कामहरुको बुधवार सिकाइ आदान प्रदान कार्यक्रम गरेको छ ।
अण्डेफको सहयोगमा डेक नेपाल सौराहाले कालिका नगरपालिका र इच्छाकामना गाउपालिकामा सञ्चालन गरिएको लैङ्गिक उत्तरदायी सुशासन प्रर्बद्धनका लागि युवा चेपाङ महिला सशक्तिकरण गरियोजना अन्तर्गत गरेका कामहरुको उपलब्धी तथा सिकाइ आदान प्रदान गरिएको हो । डेक नेपालले प्रदेश साँसद,पालिकाका जनप्रतिनिधि,नेपाल चेपाङसंघका प्रतिनिधि,गैरसरकारी संस्था महासंघ तथा अगुवा चेपाङ महिलाहरुलाई सहभागी गराएर सिकाइ आदानप्रदान गरेको हो ।
कार्यक्रममा चेपाङ महिलाहरुले सशक्तिकरणको क्षेत्रमा चेपाङ महिलाहरु अगाडि बढिसकेको भन्दै अधिकार प्राप्तीका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा श्रोत व्यक्तिहरु हितमाया चेपाङ,सुमित्रा चेपाङ,संगिता चेपाङ, तथा अगुवा चेपाङ महिला पैरवी मञ्च कृषि सञ्जालकी अध्यक्ष लक्ष्मी चेपाङले महिलाहरु सशक्तिकरणसंगै आयआर्जनमा सक्रिय हुन थालेको बताएका थिए ।
संविधान सभा सदस्य गोविन्दराम चेपाङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा सशक्तिकरणको लागि सञ्चालित कार्यक्रमको लागि डेक नेपाललाई सहयोग गर्ने स्थानीय सरकार,नेपाल चेपाङ संघ,स्थानीय श्रोत व्यक्ति,वडा कार्यालय तथा विभिन्न व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको डेक नेपालका निर्देशक जनक कार्कीले जानकारी दिए ।
कार्यक्रममा प्रदेश साँसद सन्तबहादुर चेपाङ,कालिका वडा नं ३ का वडाध्यक्ष टिकाराज रिजाल,नेपाल चेपाङ संघका बरिष्ठ उपाध्यक्ष सुनिमाया चेपाङ,उपाध्यक्ष विलबहादुर चेपाङ,जिल्ला अध्यक्ष भीमबहादुर चेपाङ,संघका प्रदेश सचिव लक्ष्मण चेपाङ,गैरसरकारी संस्था महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारी लगायतले मन्तव्य राखेका थिए । साप नेपालकी अध्यक्ष गीता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य सन्तबहादुर चेपाङले नेपालमा चेपाङ समुदायको अबस्था र सामाजिक विकास समाज कैलालीका कार्यक्रम संयोजक दीपेन्द्र चौधरीले सार्वजनिक खर्च शोधखोज सर्बेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
परियोजनाले कालिका र इच्छाकामनाका ५५० महिलाहरुलाई समुहमा आबद्ध गराएर लैङगिक समानता,सामाजिक जवाफदेहीता,सुसासन,बजेट सोधखोज सहित सामाजिक विकृतिका विरुद्ध सशक्तिकरणका कार्यक्रम सञ्चालन गरेको डेक नेपालका निर्देशक कार्कीले जानकारी दिए । डेक नेपालकी अनुगमन अधिकृत अर्चना चौधरीले कार्यक्रममा सहजीकरण गरेकी थिइन । कार्यक्रममा परियोजनाले तयार पारेको तालिम श्रोत पुस्तिका,चित्र पुस्तिका,चेपाङको अबस्था बारे पैरवीपत्र,बजेट सोधखोज हातेपुस्तिका वितरण गरिएको थियो ।