केसी सरकारले विश्वासको मत पाउन सक्दैन : एमाले

August 12, 2021 8:59 pm

बुटवल ।
लुम्बिनी प्रदेशमा सत्ताबाट प्रतिपक्षमा पुगेको नेकपा एमालेले कुलप्रसाद केसी नेतृत्वको नयाँ सरकार असंवैधानिक भएको बताएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्टीसहितका दलको समर्थनमा माओवादी संसदीय दलका नेता केसी आज बिहीबार मुख्यमन्त्री नियुक्त भएका छन ।

तर एमालेले भने विशेष अधिवेशन बोलाउने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचराधीन रहेको अवस्थामा नयाँ सरकार गठन हुनुलाई असंवैधानिक भनेको हो ।

एमाले सांसद वैजनाथ चौधरीले भने ‘विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले ‘गम्भीर संवैधानिक विषय’ भनेको छ । संवैधानिक इजलासमा विचाराधीन यो मुद्दाको छिनोफानो नभएसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मिल््दैन ।’

तर अप्राकृतिक गठबन्धनले संसदमा जबर्जस्ती अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार गठन गरिएको भन्दै उनले सरकार असंवैधानिक भएको बताए । अनेकौं प्रलोभनमा पारी एमालेकै सांसदलाई मन्त्री बनाएको भन्दै उनले सरकारलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए ।

अनेकौं प्रलोभन देखाएर सत्तामा जानु र सत्ता टिकाउन खोज्नु यो सरकारको अनैतिक र आपराधिक कार्य भएको उनको टिप्पणी छ । यस्तो अनैतिक र आपराधिक मानसिकताबाट बनेको यो सरकार धेरै दिन टिक्न नसक्ने उनले बताए ।

यदि सर्वोच्चमा विचराधीन रहेको मुद्दा आफूहरुको पक्षमा नआए सर्वोच्चको फैसला स्वीकार्य गरेर अघि बढ्नुको विकल्प नभएको सांसद चौधरीले बताए ।े