चितवन, साउन २८
१० औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनमा हात्तीलाई भोज खुवाउदै हात्ती दिवस मनाईएको छ । चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती दिवस मनाउदै संरक्षणकर्मीहरुले हात्तीको संरक्षणमा जोड दिएका छन् । हात्ती विना चितवनको पर्यटन क्षेत्र कल्पना पनि गर्न नसकिने भन्दै यसको संरक्षणको लागि सवैको साथ आवश्यक रहेको संरक्षणकर्मीहरुको भनाई छ ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्तीकै कारण चितवन निकुञ्ज विश्वमा प्रख्यात हुनुका साथै आम्दानीको श्रोत समेत रहेको जानकारी दिए । वन्यजन्तु अवलोकनकै लागि यहाँ पर्यटकहरु आउने गरेकाले हात्ती विना निकुञ्ज र पर्यटन कल्पना गर्न सकिदैन । पर्यटन व्यवसाय समेत धरासायी भएको अवस्थामा हात्ती समेत पलायन हुनु निकुञ्जका लागि गंभीर असर गर्ने अधिकृत बरालले वताए ।
बरालले हात्ती संरक्षणमा सरकारी तहबाट मात्रै नभइ सवै नागरिकको साथ आवश्यक हुने भन्दै हात्ती सफारीकै कारण पनि चितवन विश्वमा चिनिएको दावी गरे । पर्यटन व्यवसायी रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले हात्ती विना सौराहाको कल्पना गर्न नसकिने वताए । पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका छ, यसको संरक्षण गर्नुपर्छ । डलरको खेती गर्नेहरुले हात्ती सफारीको विरोध गर्ने गरेको भन्दै उहाले हात्तीमा भएको लगानी र यसले पर्यटन क्षेत्रमा पारेको सकारात्मक प्रभावका कारण बुझ्नु पर्ने औल्याए ।
जनप्रतिनिधि राजन भट्टले कोरोनाका कारण पर्यटन व्यवसाय थलिँदा यहाँका हात्तीहरु भारतमा बिक्री भएको भन्दै सौराहामा होटलका कर्मचारी, नेचर गाईड, माउतेलगायत प्राय सवैले कोरोना विरुद्धको खोप लगाईसकेकोले सुरक्षित रहेको सौराहा घुम्न आउन आग्रह गर्नु गरे । युनाईटेड हात्ती संचालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले हात्ती दुई दशकदेखि पर्यटन क्षेत्रमा प्रयोग हुदै आएकाले यसको संरक्षण आवश्यक रहेको वताए । कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले हात्ती सफारी,जीप सफारी वनको मुख्य आम्दानीको श्रोत भएकाले पर्यटकीय गतिविधिलाई वढावा दिनु पर्नेमा जोड दिए । युनाईटेड हात्ती संचालन सहकारी संस्थाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वनको सह आयोजना कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा हात्तीलाई मन पर्ने परिकारहरु खुवाईएको थियो । कोरोना संक्रमण पछि पर्यटन क्षेत्र ठप्प हुँदा सौराहाका व्यवसायीहरुले हात्ती बिक्री गर्ने क्रम जारी छ । निजी क्षेत्रका ६५ वटा हात्ती रहेको यहाँ अहिले ३३ वटा मात्र हात्ती छन् ।