विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

August 11, 2021 11:29 am

काठमाडौँ,साउन २७
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । घिसिङ २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका थिए । त्यसपछि कार्यकारी निर्देशमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थियो । स्रोतका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालयलाई मङ्गलवार विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको जानकारी गराएको थियो । मन्त्रालयका अनुसार आज घिसिङले पदबहाली गर्नेछन् । नेपालमा लोडसेडिङ हटाउन प्रमुख भूमिका खेलेको भन्दै कुलमानको चर्चासँगै पुनः नियुक्तिको माग गर्दे ओली सरकारको मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गरिए पनि छलफल भएको थिएन । प्रधानमन्त्री देउवा नेतृत्वको नयाँ सरकारले कुलमान घिसिङलाई पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मौका दिएको हो ।