काठमाडौं ।
निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ कार्यतालिकाबारे संस्थापनइतर समूहका नेताहरुसँग अनौपचारिक छलफल सुरु गरेका छन ।
भदौ १६–१९ मै महाधिवेशन हुनुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वप्रति बढी आक्रामक देखिएपछि सभापति देउवाले संस्थापन बाहेक समूहका प्रभावशाली नेताहरुसँग छलफल गरेका हुन ।
प्रधानमन्त्री देउवाले संस्थापनइतर समूहका नेताहरु डा शेखर कोइराला, डा मिनेन्द्र रिजाल र गगनकुमार थापासँग बालुवाटारमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गरेका हुन । बालुवाटार स्रोतका अनुसार देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएकाले नयाँ कार्यतालिकाबारे नेताहरुसँग सल्लाह गरेका थिए ।
छलफलमा केन्द्रीय सदस्य रिजालले पार्टीमा समझदारी जुटाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउन देउवालाई आग्रह गरेका थिए ।
देउवाले भोली साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएका छन । बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिकामा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री देउवाले सहमतिमै कार्यतालिका ल्याउने जवाफ दिएका थिए । उनले भने ‘म पनि सहमतिमै कार्यतालिका ल््याउने पक्षमा छु,‘महाधिवेशनबारे पार्टीमा समझदारी होस भन्ने चाहन्छु । यसका लागि तपाईंहरुले सकारात्मक भूमिका खेलिदिनुस ।
देउवाले सरकार सञ्चालनका बारेमा आवश्यक सुझाव दिन पनि नेताहरुलाई आग्रह गरेका थिए ।
कांग्रेसमा केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने गरी छलफल भइरहेको छ । पौडेल समूहकै महामन्त्री डा। शशांक कोइराला पनि भदौमा महाधिवेशन सम्भव नभएकाले मंसिरमा गर्ने कार्यतालिका ल्याउन सकारात्मक छन् । तर वरिष्ठ नेता पौडेल भने प्रक्रिया छोट्याएर भएपनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा छन ।
काठमाडौंमा दुई दिन चलेको पौडेल पक्षीय जिल्ला सभापतिहरुको भेलामा पनि भदौमै महाधिवेशन गर्नुपर्नेमा अधिकांशको जोड थियो ।