काठमाण्डौ –
प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको पहलबाट मात्रै कोरोना महामारी चाँडो नियन्त्रण हुने बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयले शुरु गरेको मास्क अभियानको सन्दर्भमा सन्देश दिँदै प्रधानमन्त्री देउवाले कोरोना सङ्क्रमण रोक्नका लागि राम्रोसँग मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बारम्बार साबुन पानीले हात धुने , अत्यावश्यक नपरी घरबाहिर ननिस्कने, लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।
नेपालमा पनि कोरोना महामारीको तेस्रो लहर चाँडै आउने संकेत देखिएको भन्दै उहाँले राजनीतिक दल, नागरिक, सामाजिक संघसंस्था सबैसँग स्वास्थ्यका मापदण्ड पालना गर्न र भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभयो । महामारी नियन्त्रणको प्रभावकारी उपाय खोप भएको र अहिले खोप अभियान चलिरहेको भन्दै उहाँले खोप लगाउन जाँदा पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मूलनाराका साथ मास्क अभियान शुरु गरेको हो ।एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जनस्वास्थ्यमा मापदण्ड उल्लघंन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु गरेको बताउनुभयो ।