स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: साउन महिनापछि कोरोनाका नयाँ संक्रमित घट्ने

August 5, 2021 12:12 pm

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।

साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीले आज संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने उल्लेख छ । मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने सम्भावना रहेको लोहनीले बताए ।

साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले पेश गरेको विवरणमा उल्लेख छ ।
पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ बताए ।