कोरोना संक्रमण ४३ दिन यताकै उच्च :एक्कै दिन ४,१०७ जना थपीए

August 4, 2021 9:10 pm

काठमाडौं ।
नेपालमा कोरोना संक्रमण ४३ दिनयताकै उच्च विन्दुमा पुगेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितको संख्या ४,१०७ जना जेठ ९ गतेयता एक दिनमा पुष्टि भएका संक्रमितको उच्च संख्या हो । गत जेठ ८ गते ४,५२२ जना संक्रमित थपिएका थिए भने जेठ ९ गते २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको थियो ।

जेठ २० गते दोस्रो लहरको सबैभन्दा कम संक्रमित पुष्टि भएको थियो । उक्त दिन १ हजार ६०३ जना संक्रमित थपिएका थिए । त्यसयता लगातार कोरोना संक्रमण बढ्दो छ । साउन १ गते २ हजार ९३६ जना संक्रमित थपिएकामा साउन १२ गते ३ हजार ८९९ जना संक्रमित थपिएका थिए ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले निषेधाज्ञा खुकुलो बनेसँगै नागरिकको व्यवहारमा समेत परिवर्तन आउँदा संक्रमण बढ्दै गएको बताए ।
‘दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दो छ । अस्पतालमा भर्ना हुने संख्या पनि तुलनात्मक रुपमा बढी नै छ । यी सबै कुराहरुले अब हामी तेस्रो लहरतिर अगाडि बढ्न थालेको हो कि भन्ने संकेत गरिरहेको समेत बताए ।

पछिल्लो समय टाउको दुख्ने, सामान्य ज्वरो आउनेलगायतका लक्षण भएका धेरै व्यक्तिहरु अस्पताल आउने क्रम बढेको र कतिपय व्यक्तिहरु स्वास्थ्यमा जटिलता भएर अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था समेत रहेको उनले बताए ।