काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शर्त सहित प्राधिकरण छोड्न तयार भएको बताएका छन ।
गत माघमा केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई बढीमा चार वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । नयाँ सरकार बनेसँगै शाक्यलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशक बनाउने तयारी भएको छ ।
शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको, तर अर्को जिम्मेवारी दिन सकिन्छ कि भनेर सोधेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शाक्यलाई कार्यकारी निर्देशकबाट विदा भएर सहयोग गर्न आग्रह गरेकी थिइन ।
पत्रकारहरुसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले आफू लामो समयदेखि प्राधिकरणभित्र ‘इन्जिनियरिङमा काम गरिरहेको बताए । ‘मेरो आवश्यकता महसुस गरेर सरकारले जहाँसुकै पठायो भने म तयार छु ।उनले भने
अन्याय भयो भने अदालत जाने हो, नत्र सरकारले दिने जिम्मेवारी शिरोधार्य गरेरै काम गर्छु ।’
बुधबार नै ऊर्जामन्त्री पम्फा भुसाललाई भेटेका कार्यकारी निर्देशक शाक्यले सम्मानजनक रुपमा अन्य कम्पनी वा ठूला आयोजनामा जिम्मा दिन माग गरेको स्रोतले बताएको छ । उनले विद्युत उत्पादन कम्पनी वा मन्त्रालय अन्तर्गत रहेका अन्य वैकल्पिक कम्पनी तथा संस्थाहरुमा जान चाहेको स्पष्ट संकेत गरेका छन ।