काठमाडौँ,साउन १९
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक संजाल मार्फत विज्ञप्ती जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि एकदिवसीय मान्यतासम्म प्राप्त गरेको थियो । नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिग पनि खेलेका थिए । सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको जनाएका छन् । सन् २००९ मा कप्तान भएका खड्काले २०१९ मा कप्तानी छोडेका थिए ।