रत्ननगर रोटरीको पद हस्तान्तरण

August 1, 2021 9:35 am

रत्ननगर,साउन १७
रोटरी क्लब अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम शनिबार गरिएको छ । रत्ननगरमा आयोजित कार्यक्रममा सन् २०२०/२०२१ का अध्यक्ष शिवराज उप्रेतीले सन् २०२१/२०२२ का अध्यक्ष निराजन खनाललाई पद हस्तान्तरण गरेका हुन् ।जोन ३० का असिस्टेन गर्भनर नारायण प्रधान प्रमुख अतिथि रहेको सो कार्यक्रममा बैठक तथा कार्यक्रममा सबैभन्दा बढी सहभागी भएका पूर्वअध्यक्ष जनकराज पौडेल, उत्कृष्ट रोटरिएन पूर्वअध्यक्ष विजयराज न्यौपानेलाई अध्यक्षको अवार्ड तथा संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा रोटरी पूर्वी चितवनका संस्थापक अध्यक्ष राममणि न्यौपाने र रोट्याक्ट पूर्वी चितवनका संस्थापक अध्यक्ष पुजन लामिछानेलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष खनालले पूर्वअध्यक्षहरुले गरिरहेका कामलाई उच्च प्राथमिकता दिँदै दीन दुःखीहरुको सहयोगमा काम गर्ने, लटौलीमा रहेको विद्यालयमा खाजा कार्यक्रमलाई निरन्तरता दिने, विद्यालयमा कम्पाउन्ड निर्माण गर्ने, लटौलीलाई नमुना भिलेजको रुपमा विकास गर्ने,रोटरी मुसहर भिलेजलाई पूर्णता दिने, रोटरी माइक्रो फाइनान्सलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । रोटरी माइक्रो फाइनान्सको लागि क्लबबाट एक लाख र लण्डन क्लबबाट एक लाख गरी दुई लाख रूपैयाँ जम्मा गरिएको छ । कार्यक्रममा रोटरीले प्रकाशन गर्दै आएको वार्षिक बुलेटिनसमेत विमोचन गरिएको थियो ।

कार्यक्रममा ह्याचरी उद्योग संघ प्रदेश समितिका अध्यक्ष ज्ञानबहादुर विसुराल,हिमालयन बैंक टाँडी शाखाका प्रबन्धक विवेकसिंह थापा,रोटरी क्लब अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।