चितवन,साउन १४
सपना भिलेज सोसिएल इम्प्याक्ट सौराहाले सीमान्तकृत चेपाङ समुदायलाई फलफूल तथा घाँसको विरुवा वितरण गरेको छ। इम्प्याक्टले इच्छाकामना गाउँपालिका वडा नं १ का सीमान्तकृत चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने उद्धेश्य सहित सुन्तला, कागती र घाँसको विरुवा वितरण गरेको हो । कालिङडाँडा र कोलभन्ज्याङका ७५ चेपाङ परिवारलाई २ हजार वटा सुन्तला, १ हजार ६०० वटा कागतीका विरुवा र ३ हजार ८०० बोट घाँसको विरुवा वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए। यसअघि बोयर जातको बोका वितरण गरेको संस्थाले बाख्रा उत्पादन लागत मूल्य घटाउन टाँकी,बकाइनो,इपिल,किम्बु र खयरको विरुवा वितरण गरेको हो । इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत, परियोजना निर्देशकहरु अनिल अर्याल, मीनराज सापकोटाले फलफूल तथा घाँसका विरुवा हस्तान्तरण गरेका थिए ।