विपद् तथा जलवायु उत्थानशील योजनाको विषयमा रत्ननगरमा कार्यशाला

July 27, 2021 6:07 pm

रत्ननगर,साउन १२
रत्ननगर नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय विपद् तथा जलबायु उत्थानशील योजनाको विषयमा मंगलवार सर्वपक्षिय कार्यशाला गोष्ठी गरिएको छ । विपद् व्यवस्थापन र प्रभावित समुदायमा व्यवस्थापनलाई प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको सो योजनाको विषयबस्तु र कार्ययोजनाको विषयमा गोष्ठीमा छलफल गरिएको छ । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र एशियाली विपद् पूर्व तयारी केन्द्रको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाले नगर विपद् प्रोफाइल र स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजना निर्माण हुँदैछ । योजना निर्माणको काम बुधबार देखिनै सुरु हुने वन,वाताबरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले जानकारी दिए ।

योजना निर्माणको लागि १६ वटै वडामा पुगेर विपद् बुझेका,विपद् प्रभावित,रेडक्रस,जनप्रतिनिधि,टोल विकास संस्था र विभिन्न समुह तथा मेयर उपमेयर सहित वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तक्रिया गरी नगर प्रोफाइल तयार गर्ने र त्यसपछि योजना निर्माणको काम सुरु हुने श्रेष्ठले बताए । कार्यक्रममा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका कर्मचारी कृष्णप्रसाद घिमिरेले नेपालमा विपद्को परिदृश्य,जोखिम न्यूनीकरण तथा व्यवस्थापन,केन्द्रका परामर्शदाता यसप्रसाद सुब्बाले स्थानीय विपद् तथा जनबायु उत्थानशिल योजना तर्जुमा र एशियाली विपद् पूर्व तयारी केन्द्रकी परामर्श दाता शक्ति गुरुङले योजना प्रक्रियामा लैङ्गिकता तथा समाबेशीकरणको सवालको विषयमा सहजीकरण गरेका थिए । त्यस्तै वन,वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहालले विपद् व्यस्थापन र जोखिम न्यूनीकरणको लागि नगरपालिकाले गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेयर नारायण वनले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि भरपर्दो आधार तयार गर्न योजना निर्माण गर्न लागिएको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडी,वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।