रत्ननगरका किसानलाई बोका र बाख्रा वितरण

July 26, 2021 9:34 pm

रत्ननगर,साउन १०
रत्ननगर नगरपालिका वडा नम्बर ३ का विपन्न किसानलाई अनुदानमा बोका र बाख्रा वितरण गरिएको छ । वडा कार्यालयको वडागत बजेटबाट ५० प्रतिशत अनुदानमा ८० जना किसानलाई बाख्रा र २ जना कृषकलाई बोका वितरण गरिएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र वडाध्यक्ष गुप्तनाथ भट्टराईले किसानहरुलाई बाख्रा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मेयर नारायण वनले कृषि र पशुपालन मार्फत रोजगारी सृजना गर्न नगरपालिकाले अनुदानका कार्यक्रम ल्याएको बताए । उनले चालु आर्थिक बर्षमा किसानलाई व्यवसायिक बनाउने उद्देश्यले गाई र बंगुर वितरणका लागि एक करोड रुपैया विनियोजन गरेको बताए । कृषि क्षेत्रको व्यवसायिककरणको लागि उपकरण खरिदमा अनुदान र पशुपालनको विकासको लागि पशुपंछी खरिदमा अनुदान प्रदान गरिएको उनको भनाई छ । कार्यक्रममा वडाध्यक्ष भट्टराईले वडा भित्रका किसानहरुको आयआर्जनको लागि बाख्रा वितरण गरिएको बताए । बाख्रा खरिदमा जनही ५ हजार र बोका खरिदमा जनही २० हजार अनुदान दिइएको उनले जानकारी दिए । बोका, बाख्रा खरिद तथा वितरण समितिका संयोजक ऋषब थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव चन्द्रप्रसाद नेपालले वडा कार्यालयको ४ लाख ५० हजार रुपैया बाख्रा खरिदमा अनुदान दिइएको बताए ।

कार्यक्रममा वडा सदस्य मीना गिरी,किशोर बाबु पुरी,विमला परियार,प्रेमकुमारी चौधरी,वडा सचिव चन्द्रमणि आचार्य,नेपाली काँग्रेसका छविलाल घिमिरे,रत्ननगर पशु विकास शाखा प्रमुख शालिकराम पौडेल लगायतको उपस्थिती रहेको थियो ।