
लक्ष्मण सापकोटा/रत्ननगर,साउन ९
बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच सहकार्य हुने भएको छ । अस्पताल र प्रतिष्ठान बिच शुक्रबार सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएकोे हो । सम्झौता पत्रमा प्रतिष्ठानका तर्फबाट उपकुलपति डाक्टर विश्वराज जोशी र शिक्षाध्यक्ष डाक्टर सतिश कुमार देव तथा अस्पतालका तर्फबाट अध्यक्ष गोपाल कर्माचार्य र मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले हस्ताक्षर गरेका हुन् । प्राज्ञीक तथा स्वास्थ्य सेवा सम्बन्धी सहकार्य गर्ने उद्धेश्य सहित बागमती प्रदेश सरकारद्धारा प्रस्तावित निती,योजना तथा कार्यक्रम अन्र्तगत अस्पताललाई प्रतिष्ठानको स्याटलाईट शिक्षण अस्पतालको रुपमा विकास गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता अनुसार प्रदेश सरकारको मातहतमा रहेको बकुलहर रत्ननगर अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षीक कार्यक्रम संचालन गर्न पाउने भएको छ ।
शुक्रबारबाट सम्झौता लागु भएसंगै अब अस्पतालमा तत्कालका लागि विपीएच,विमएलटी,वि फार्मेसी लगायतका कार्यक्रमहरु संचालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विश्व बन्धु बगालेले जानकारी दिए । उनले अस्पतालमा शैयाको संख्या १०० पुर्याउने योजना रहेको भन्दै शैयाको संख्या थपिएको खण्डमा एमबिबिएस र एमडीको कार्यक्रमहरु पनि संचालन गर्न सकिने वताए । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सतिस कुमार देवले प्रतिष्ठानले स्वास्थ्य र शिक्षालाई संगै लिएर काम गरिरहेको वताउदै प्रतिष्ठान र अस्पताल विच भएको सहकार्यले अस्पतालले दिइरहेको सेवामा थप टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
त्यस्तै,अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष गोपाल कर्माचार्यले पछिल्लो समय अस्पतालले आफ्नो सेवा विस्तार गर्दै फड्को मारिरहेको दावी गर्दै प्रतिष्ठान र अस्पतालबिच भएको सम्झौताले थप उत्साह थपिएको वताए । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अस्पताल स्थापना गर्दाको सुरुवातको अवस्था स्मरण गर्दै धैरे दुख र मेहनतले अहिलेको अवस्थामा आएको जानकारी दिए । उनले अस्पतालको साथमा नगरपालिका पनि रहेको भन्दै आगामी दिनमा अस्पताललाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा वोल्दै अस्पतालका पूर्व अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास ब्यक्त गर्दै अस्पतालले सेवा विस्तार जारी राखेको भन्दै पछिल्लो ६ बर्षमा धेरै परिवर्तन भएको दावी गरे ।
पुर्वि चितवनका ४ नगरपालिकालाई लक्षीत गर्दै सेवा दिइरहेको बकुलहर रत्ननगर अस्पतालले आर्थिक बर्ष २०७७/७८ मा नब्बे हजार ७०८ जना विरामीलाई सेवा दिएको थियो भने १ हजार ७०३ जना विरामीलाई भर्ना गरेर उपचार गरेको थियो । एक वर्ष अघि अपरेशन सेवा सुरु गरेको अस्पतालले विरामीलाई डाएलासिस सेवा पनि दिदै आइरहेको छ । छिट्टै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा गर्ने तयारी गरिरहेको अस्पतालले दैनिक पाँच सय भन्दा बढी विरामीलाई सेवा दिइरहेको छ ।