प्रतिनिधि सभामा मत विभाजन प्रक्रिया सुरु

July 18, 2021 9:42 pm

काठमाण्डौ –
प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मतका लागि प्रतिनिधि सभा बैठकमा मत विभाजन प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत मागेपछि र त्यसमाथिको छलफलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गरेपछि मत विभाजन प्रक्रिया सुरु भएको हो ।

एमालेको नेपाल समूहका सबै सांसदले मत नदिने भएका छन । जसपाको महन्थ ठाकुर पक्षले समेत विश्वासको मत दिने निर्णय गरेकाले एमालेको माधव नेपाल समूहका सांसदले मत नदिए पनि देउवाको पक्षमा बहुमत पुग्नेछ ।

देउवालाई गठबन्धन र जसपाको महन्थ ठाकुरले पनि मत दिने भएपछि एमालेको माधव नेपाल समूहको समर्थनबिनै बहुमत पुग्ने निश्चित भएको छ । २ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसको ६१, माओवादीको ४८, जसपा उपेन्द्र यादव पक्षको २० र जसपा महन्थ ठाकुर पक्षको १२, राष्ट्रिय जनमोर्चाको १ तथा स्वतन्त्र १ गरी देउवाको पक्षमा १ सय ४३ मत पुग्छ ।