पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन नेपालमै

July 18, 2021 9:19 pm

काठमाडौं।
नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि उत्पादन सुरु भएको छ । टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।

राजधानीमा एक संक्षिप्त कार्यक्रम गरी टिजिगले आफ्नो तथा आफूले उत्पादन गरेका ‘एन्टी क्यान्सर’ सम्वन्धी औषधिहरुको समेत अनावरण गरेको छ ।
टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले क्यान्सर रोगबिरुद्धको औषधि उत्पादन गर्ने टिजिग नेपालकै पहिलो कम्पनी भएको बताए । उनले औषधि व्यवस्था विभागसंग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया शुरु भईसकेको भन्दै एक महिना भित्र केही औषधि व्यवसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए । सो अवसरमा क्यान्सर रोग विशेषज्ञहरुबीच औषधिको विषयमा संक्षिप्त अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

कम्पनीले दिएको जानकारी अनुसार टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भईसकेको छ भने काभ्रेको बनेपा १ नालामा १६ रोपनी क्षेत्रफल जग्गामा उद्योग रहेको छ । त्यसमध्ये अहिले २० हजार स्वाएर फिटको पूर्वाधार तयार भइसकेको कार्यकारी निर्देशक बैद्यले बताए ।

वैद्यको अनुसार अत्याधुनिक प्रविधिमा बनाइएको टिजिग फर्माको उद्योग डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना उद्ययोग रहेको छ । ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन ।

टिजिगले अहिले औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक बैद्यले बताए ।

उनले तत्कालै पाँचवटा औषधि आईहाल्ने र त्यसपछि अरु ल्याउने योजना रहेको समेत सुनाए । एन्टीक्यान्सर औषधिको मूल्यको सन्दर्भमा गरिएको एक प्रश्नमा कार्यकारी निर्देशक बैद्यले टिजिगले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए ।

भारत र तेस्रो मुलुकबाट क्यान्सर रोगका औषधि आउने गरेको भन्दै ।कार्यकारी निर्देशक बैद्यले औषधिको गुणस्तरीयता, प्रभावकारिता र सुरक्षालाई कायम गर्न उच्चतम प्राथमिकतामा राख्दै नेपाली जनमानसलाई सुलभ मू्ल्यमा उत्पादन भएको औषधी उपलब्ध गराउने बताए ।