चितवन,असार ३१
रत्ननगरका युवालाई उद्यमी बनाउने योजना सहित बुधवारबाट रत्ननगर नगरपालिकामा नगर प्रमुख उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । नगर भित्र रोजगारी सृजना गर्ने उद्देश्यकले सो नगरपालिकाले उद्यमशिलता प्रर्बद्धन कार्यक्रम अन्तर्गत विना धितो कर्जा लगानी सुरु गरेको हो । युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन हुनबाट रोक्न उद्यमशिलता प्रर्बद्धन कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । कोरोनाका कारण विदेशबाट फर्केर आएका र पैसा र धितोको अभावले बेरोजगार बनेका युवा तथा युवतीहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको हो । कार्यक्रम संचालनका लागि नगरपालिकाले चालु आर्थिक बर्षका लागि एक करोड रुपैया विनियोजन गरेको थियो । नगरपालिकाको एक करोड र नेपाल बैंकको साढे २ करोड गरी साढे तीन करोड लगानी गर्ने गरी बैंकसंग सम्झौता भएको स्रोत ब्यक्ती विश्वास श्रेष्ठले जानकारी दिए । आर्थिक बर्ष २०७७/७८ का विनियोजन गरेको एक करोड रुपैयाबाट १०० जना र आगामी आर्थिक बर्षको लागि विनियोजन गरिएको एक करोड रुपैयाबाट १०० जना गरी २०० जनालाई स्वरोजगार बनाउने योजना नगरपालिकाको रहेको छ । कार्यक्रम अन्तर्गत नेपाल बैंकले कर्जा लगानी गरेको छ भने त्यसको व्याज नगरपालिकाले तिर्ने छ ।
महिला उद्यमीका लागि ६ प्रतिशत व्याज मध्ये २ प्रतिशत नगरपालिकाले र बाँकी ४ प्रतिशत नेपाल सरकारले प्रदान गर्ने व्याज अनुदान र अन्य उद्यमीको हकमा ५ प्रतिशत व्याज मध्ये ३ प्रतिशत नगरपालिका र बाँकी ३ प्रतिशत व्याज नेपाल सरकारले प्रदान गर्ने व्याज अनुदानमा मिलाउने गरी नेपाल बैंक संग सम्झौता गरिएको मेयर नारायण वनले जानकारी दिए । नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले १३ जनालाई चेक हस्तान्तरण गरेका छन । पहिलो चरणमा रत्ननगर १ को सौराहा गुर्मे बेकरीका सञ्चालक किशोर गिरी क्षेत्री,सोही वडाको वन्स अ टी ग्यारेजका सञ्चालक उत्सव कुँवर,रत्ननगर ३ को दुवाडी श्रृङ्गारकी सञ्चालिका शर्मिला गौतम,सोही वडाको हुमा जनरल स्टोर्सकी सञ्चालिक हुमावती गिरी, रत्ननगर ४ को इभान ब्युटीपार्लर एण्ड कस्मेटीक सपकी सञ्चालिका बबिता घर्ती मगर,रत्ननगर ५ को सुष्मा वेकरीकी सुष्मा महतो, रत्ननगर ९ को दिब्यान्स फ्रेस हाउसका सञ्चालक दिपेन्द्र चौधरीले कर्जा पाएका छन् । त्यसैगरी रत्ननगर ९ को सफलता वंगुरपालन फर्मकी सञ्चालिका सन्तमाया चेपाङ, रत्ननगर १० नवयुग पशुपंक्षी तथा कृषि फार्मकी सञ्चालिका राधा नेपाली, रत्ननगर १० को रत्ननगर च्याउ फर्मकी सञ्चालिका गगनमाया गुरुङ, रत्ननगर १२ को कृष्ण पशु फर्मका सञ्चालक कृष्ण क्षेत्री रत्ननगर १६ को काली बाख्रापालन फर्मका सञ्चालक बिवेक लामा र सोही वडाको खतिवडा बाख्रा फर्मका सञ्चालक कृष्णमणि खतिवडाले विना घितो,विना व्याज कर्जा पाएका छन् ।
सो अबसरमा मेयर वनले नगर भित्रै रोजगारी सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न कार्यक्रम सुरु गरिएको बताए । कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरुको सीप र पुँजिलाई स्वदेशमा लगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको भन्दै मेयर वनले पैसा र धितोको अभावले उद्यम गर्न नसकेकालाई प्राथमिकता दिइने बताए । कार्यक्रममा उपमेयर दुवाडीले रकम थोरै भएपनि आफ्नै ठाउँ,आफै गाउँमा केही गर्न चाहनेका लागि उक्त कर्जा दरिलो माध्यम भएको बताइन । प्रमुख प्रशासकीय अधिकृत पौडेलले सीप,जाँगर र उत्साह भएका र पैसा नभएर बेरोजगार बनेका युवाहरुलाई स्वरोजगार बनाउने गरी कार्यक्रम आएको बताए । यो स्थानीय सरकारले प्रदान गरेको सुनौलो अबसर हो उनले भने यसको सदुपयोग कत्तिको गर्न सकिन्छ भन्ने कुरा तपाईहरुको हातमा छ । नेपाल बैंक टाँडी शाखाका प्रबन्धक रविन्द्र गिरीले उद्यमशिलता प्रर्बद्धन कार्यक्रमको उद्देश्य र प्रक्रियाहरुको बारेमा जानकारी गराएका थिए ।