
काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई निराश बनाएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्दै सर्वोच्चको हिजोको फैसलाले लोकतन्त्रमा विश्वास राख्नेहरुलाई र संविधानको सर्वोच्चतामा विश्वास गर्नेहरलाई निराश बनाएको दाबी गर्नुभएको हो ।
उहाँले दलीय व्यवस्थालाई फैसलाले के गर्यो, त्यो पछि थाहा होला, भन्दै संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले फैसला कार्यान्वयन गरेको बताउनुभयो ।ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई निरङ्कुश भन्ने र अर्कै फैसला गर्नु कत्तिको उचित हो ओलीले प्रश्न गर्नुभएको छ ।
सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको शक्ति सन्तुलनलाई प्रभाव पारेको ओलीको दाबी छ । एउटै दलका सांसद सत्तापक्ष र प्रतिपक्ष बन्न पाउने सर्वोच्चको फैसलाले लोकतान्त्रिक व्यवस्था र दलीय कानुनको धज्जी उडाएको ओलीले बताउनुभयो ।