
असार २७ । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो। माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे। खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरे। उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरेका हुन् । । यता, बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज बाधक बनेका थिए। जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ।
यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन्। ३४ वर्षीय मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका हुन्। सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेस्सीले सन्यास घोषणा गरेका थिए। तर, उनी सन्यास फिर्ता लिदै राष्ट्रिय टिममा फर्किएका थिए। अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो।
अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो। अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो। ब्राजिलले भने पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।