नारायणगढ मुग्लिन सडक, केही सवारीले पार गर्न नपाउँदै फेरि पहिरो खस्दै

July 6, 2021 1:06 pm

चितवन ।
वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका २९ को सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलोलगायतका ठाउँमा पहिराले विगत एक सातायता दुःख दिइरहेको छ । आज मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहनुभएका उनले भने, “लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।”

पहिले पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । त्यहाँ छ मिटर जति माटो मात्रै रहेको उनले जानकारी दिए । त्यस ठाउँमा खेती गरिँदै आएको छ । सोही ठाउँबाट पहिरो तल खसेको छ । भिरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले सडक खुलाउन मुस्किल भएको बताउनुभयो । एक सातायता सो सडकले दुःख दिइरहेको छ । उनले भने

सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारी तीन हजारभन्दा बढी पुगिसकेको भन्दै उनले विगत तीन दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिए ।

भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले डिभिजन सडक कार्यालय भरतपुर र सुरक्षा निकायले सडक खुलाउनका लागि दिनरात काम गरिरहेका बताए ।
सो सडकमा पहिरो झरेलगत्तैदेखि निरन्तररूपमा सफा गर्ने उपकरण र जनशक्ति परिचालन गरिएको बताए । उनका अनुसार निरन्तररूपमा पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो ।

यस सडकमा सामान्य अवस्थामा दैनिक १० हजार हाराहारी सवारी साधन आवतजावत गर्ने तथ्याङ्क छ ।