चितवन,असार २१
रत्ननगर नगरपालिकाले महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । नगरपालिकाले सोमबार चितवनका १५ जना महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो । कार्यक्रममा कोरोनाको समयमा महिला पत्रकारलाई रिपोर्टिङको क्रममा परेका समस्याबारे छलफल हुनुको साथै महिला पत्रकारहरुले आफ्नो पत्रकारिताबारे अनुभव सुनाएका थिए । चितवनकी महिला पत्रकार शान्ता अधिकारी र प्रतिमा सिलवालले पत्रकारलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै मेयर नारायण वनले मिडिया राज्यको चौथो अंग रहेको उल्लेख गर्दै पछिल्लो समय केही अनलाइन मिडियाले चर्चाको लागि मात्र कामगर्दा मुलधारको मिडियाले पनि नकारात्मक टिप्पणी सुन्न परेको बताए। उनले सबै मिडियाले कमीकमजोरी पनि केलाउनुपर्छ तर त्यो भन्दैमा असत्य, झुटा समाचारहरु प्रकाशित गर्न नहुने भन्दै मिडियाहरु संवेदनशिल हुनुपर्ने धारणा राखे ।
नगरपालिकाकी उमेयर बिमला दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष केशव आचार्य, वडा नम्बर ८ का वडा अध्यक्ष विनोद बस्नेत, नगरपालिकाका महिला विकास अधिकृत दिपा घिमिरे सहित पत्रकारहरुको सहभागिता रहेको थियो।