
चितवन,असार २१
पूर्वी चितवनको राप्ती नगरपालिका धमिलीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको सुजिता भण्डारीको शव प्रहरीले घटनास्थलबाट उठाएको छ । १० दिन अघि घरबाटै बेपत्ता भएकी सुजिताको शव आइतवार साँझ सामुदायिक वनमा फेला परेको थियो ।
प्रहरीले घटनास्थलबाट शव उठाएको भएपनि आफन्त र स्थानीयवासीले भरतपुर लैजान दिएका छैनन् । दोषी पत्ता नलगाई शव लैजान नदिने भन्दै आफन्त र स्थानीयवासीले अवरोध गरेका हुन । सुजिताका परिवार आफन्त, स्थानीयवासीहरु सडकमा आएका छन् । भीडलाई नियन्त्रणमा लिएर शव पोष्टपार्टमको लागि भरतपुर लैजाने प्रहरीको प्रयास सफल हुन सकेको छैन । दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव लैजान नदिने आफन्त र स्थानीयबासीहरुले बताएका छन् । एम्बुलेन्समा राखिएको सुजिताको शव घेरेर बसेका आफन्त र स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग समेत अबरुद्ध गरेका छन् ।
असार ११ गते शुक्रवार विहान तरकारी किन्न घरबाटै निस्किएकी सुजिता १० दिन बितिसक्दा पनि सम्पर्कमा आएकी थिइनन् । सुजिताको घरबाट तीन किलोमिटर धमिली र धमिलीबाट आधा घण्टा हिडेपछि पुगिने जंगलको बीचमा सुजिताको शव भेटिएको थियो । विहान साढे ५ बजेदेखि हराएकी सुजिताले सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफु अपहरणमा परेको भन्दै बचाउन आग्रह गरेकी थिइन । सुजिताको खोजीको लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरीको टोली समेत परिचालन गरिएको थियो ।